नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरुले मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनबारे एकठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतीको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाई थियो ।
उनले भने- ‘जनादेश विपरित जाने दलहरु समाप्त हुनेछन् । हामीले गल्ती गरेकाले जनताले दलहरुको विकल्प खोजेका हुन् । जनताले दिएको म्यान्डेट अनुसार अघि बढौं । विशेषगरी मूलधारका राजनीतिक दलहरु एक ठाउँमा बसौं । सरकारको बारेमा छलफल गरौं, बहस गरौं । प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौं । र, अव यो मुलुकको संविधानमा कतै संशोधन गर्नुपर्ने हुन सक्छ । तर, संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिवद्धता जाहेर गर्नु पर्दछ जस्तो मलाई लाग्दछ ।’
त्यस अवसरमा काँग्रेस सांसद थापाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजना समेत सार्वजनिक गरे । उनले भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढता समेत व्यक्त गरे ।































प्रतिक्रिया