दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ ।
बुधबार धार्चुलाको एनएच पीसीमा सम्पन्न नेपाल-भारत सीमा सुरक्षा बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए । विवाद नभएका क्षेत्रमा भने भारतीय पक्षले काम यथावत राख्ने छ ।
यस्तै, भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।
बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिस्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करण सिंह धामी, भारतको तर्फबाट डीएम रीना जोशी, एसडीएम दिबेश शासनीको उपस्थिति रहेको थियो ।
महाकाली नदी नेपालतर्फ धकेलिने गरी दुई वर्षदेखि तटबन्ध बनाइरहेको भारतले पछिल्लो समय खलंगाबाट धारचुला जोड्ने पुलमुनि पक्की संरचना निर्माण गरिरहेको छ । सो क्रममा नदीको बहाव नेपालतर्फ फर्काएर एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्न थालेपछि नेपाली पक्षले आइतबार पुल अवरुद्ध गरेर निर्माण रोक्न माग गर्दा भारतीय पक्षबाट ढुंगा प्रहारबाट केही नेपाली घाइते भएका थिए । भारतीय रवैयाविरुद्ध नेपालतर्फ जनस्तरबाटै विरोध भएपछि मंगलबार परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोटसमेत पठाइएको थियाे ।































प्रतिक्रिया