काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमुख भने यस अघि नै मनोनयन गरिएको थियो ।
उनले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहेको सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न ४० जनालाई मनोनयन गरेका हुन् । यसैगरी हरिप्रसाद नेपाल प्रमुख रहेको शिक्षा विभागको उपप्रमुखमा शेषनाथ अधिकारी र सचिवमा डा कृष्णप्रसाद पौडेल तथा सदस्यमा विभिन्न जिल्लाबाट ३८ जना मनोनयन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
महेन्द्र यादव प्रमुख रहेको यातायात व्यवसायी समन्वय विभागमा ४१ सदस्य, फरमूल्लाह मंसुर प्रमुख रहेको मुस्लिम विभागको सचिवमा परवेज अन्सारी र अन्य ३७ जना सदस्य, अजयकुमार चौरसिया प्रमुख रहेको तराई–मधेश समन्वय विभागको उपप्रमुखमा श्रीप्रसाद राउत र सचिवमा रामनारायणप्रसाद कुर्मी तथा ३७ सदस्य मनोनयन गरिएको छ ।
सभापति देउवाले रमेश रिजाल प्रमख रहेको सङ्घीय मामिला तथा प्रदेश समन्वय विभागमा ४० सदस्य, अम्बिका बस्नेत प्रमुख रहेको वन, वातावरण तथा विपत् व्यवस्थापन विभागमा ३९ सदस्य, आनन्दप्रसाद ढुङ्गाना प्रमुख रहेको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल र ३८ सदस्य मनोनयन गरेका छन् ।
यसैगरी अर्जुनप्रसाद जोशी प्रमुख रहेका स्थानीय तह समन्वय विभागमा ३८ सदस्य, वीरबहादुर बलायर प्रमुख रहेको निर्माण व्यवसायी समन्वय विभागमा ३९ सदस्य, शङ्कर भण्डारी प्रमुख रहेको तरुण विभागको सचिवमा श्यामप्रसाद श्रेष्ठ र सदस्यमा ४० सदस्य, मोहनबहादुर बस्नेत प्रमुख रहेको खेलकूद विभागको उपप्रमुखमा मोहनकुमार राई र मीनकृष्ण महर्जन तथा २७ सदस्य मनोनयन गरिएको छ । तरुण विभागलाई गत जेठ १७ गते र खेलकूद विभागलाई गत जेठ २८ गते पूर्णता दिइएको थियो ।
काँग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभाग सम्बन्धी व्यवस्था गरिएको छ । विधानमा २८ विभाग रहने व्यवस्था भए पनि विधानकै अधिकार प्रयोग गरी काँग्रेस केन्द्रीय कार्यसमितिको गत पुस ११ गतेको बैठकले महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउने गरी विभागको सङ्ख्या बढाएर ४७ पुर्याउने निर्णय गरेको थियो । विधान बमोजिम प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन काँग्रेसको क्रियाशील सदस्य हुनुपर्छ ।
सभापति देउवाले हालसम्म पूर्णता दिएका केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने सहभागिता जनाएका छैनन् । सो समूहले काँग्रेसको १३ औँ महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नु पर्ने केन्द्रीय विभाग अहिले चौधौँ महाधिवेशनको कार्यतालिका अघि बढिसकेपछि निर्वाचन आचारसंहिता विपरीत गठन गरिएको जनाउँदै विरोध गर्दै आएका छन् । काँग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म भएको थियो ।रासस





























प्रतिक्रिया