संसदमा हराउने सांसदलाई प्रविधिले बाँध्दै, भत्ताका लागि हाजिर गर्ने चलन अन्त्य हुने

संसदमा हराउने सांसदलाई प्रविधिले बाँध्दै, भत्ताका लागि हाजिर गर्ने चलन अन्त्य हुने

केन्द्रबिन्दु
0
Shares

जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जानेक्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो । 
    
संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले कोरोना सङ्क्रमण हटेको औपचारिक घोषणा भइनसकेको तर सांसदको उपस्थितिको अभिलेख राख्नुपर्ने पक्षलाई दृष्टिगत गरी हातको औँला वा मुखाकृति वा हस्ताक्षरबाट हाजिरी जनाउनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
    
जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने देशको सर्वाेच्च जनप्रतिनिधिसभा संसद्का सदस्यको मुख्य जिम्मेवारी  संसद् र संसदीय समितिका बैठक, भेला र छलफलमा सहभागी भई मुलुक र जनहितमा विधि निर्माण गर्नु हो । सांसदलाई अनुशासित र कर्तव्यपरायण तुल्याउने औजारका रूपमा विद्युतीय हाजिरी प्रणालीले सहयोग पु-याउने छ ।
    
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो सदनको कार्य व्यवस्था परामर्श समितिको सुझाव प्रतिवेदनका आधारमा यसअघि नै विद्युतीय हाजिरीको व्यवस्थापन गर्न सचिवालयलाई  निर्देशन दिइसकेका छन् । अध्यक्षको निर्देशनानुसार प्राविधिक पक्ष र सफ्टवेयर विकास गर्नेबारे सचिवालयले अध्ययन सुरु गरिसकेको छ ।
    
नेपालको संसदीय अभ्यासमा पहिलो अर्थात् विसं २०१६ को संसद्मा जस्तो हार्दिकतापूर्ण, गम्भीर छलफल र बहस त्यसपछिका सदनमा हुन नसकेको टिप्पणी गरिँदै आएको छ ।  पछिल्ला अधिवेशन बैठकमा जनप्रतिनिधि सदनमा आउने तर उपस्थिति जनाएर अन्यत्र हिँड्नेलगायत प्रवृत्तिले प्रश्रय पाउन थालेपछि सचिवालयले विद्युतीय हाजिरी व्यवस्थापनको पहल गर्न लागेको हो ।
    
सदन र संसदीय  समिति बैठकमा जनप्रतिनिधिको आवश्यक न्यूनतम सङ्ख्या नपुगेर बैठक स्थगन भएका खबर मतदाताले निरन्तर सुन्दै–पढ्दै आएका छन् । जनप्रतिनिधिले विधेयक र प्रस्तावमाथि गहन एवम् मसिनोसँग छलफल र बहस नगरी बनेका कानुन र लिएका निर्णय गुणस्तरीय हुन नसक्ने विज्ञको तर्क  छ । 

सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनुपर्नेमा बैठक नै छाडेर कहाँ जान्छन् भन्ने प्रश्न सधैँजसो उठ्ने गरेको छ । बैठकमा प्रवेशपूर्व कागजी हाजिरी जनाएर सांसदहरू आफ्नो मूल जिम्मेवारीभन्दा बाहेकका अरू नै काममा लाग्ने, अन्य कक्षमा गई गफ गर्ने, चिया–कफी पिएर घन्टौँ समय बिताउने, घाम ताप्ने, सामाजिक कार्यहरूमा संलग्न हुने प्रवृत्ति रहिआएको छ ।

सदनका बैठकमा लगातार १० पटक उपस्थित नभएमा पद नै समाप्त हुनसक्ने कानुनी व्यवस्था छ । जनप्रतिनिधिका बैठकमा भाग लिने नै मुख्य जिम्मेवारी हो । संसद्मा हुने बहस, सवाल–जवाफ, छलफल, तर्कवितर्क र पैरवीले लोकतन्त्रलाई सुदृढ तुल्याउँछ भन्ने मान्यता छ । 
    
तर, सदनका बैठक ‘कोरम’ नपुगेर स्थगन हुने तर विधायक भने गैरसरकारी संस्थाका कार्यक्रममा खचाखच हुने कार्य लोकतान्त्रिक शासन व्यवस्थामा शोभनीय नभएको विज्ञ बताउँछन् । पछिल्ला बैठकमा कानुन निर्माताको आवश्यक उपस्थिति नपुग्ने, विधेयक र प्रस्तावमाथिको छलफल प्रभावकारी नहुने जस्ता समस्या निरन्तररूपमा रहिआएको छ ।सदनमा होस् वा समितिका बैठकमा, प्रमुख दलका शीर्ष नेताकै उपस्थिति न्यून हुने प्रवृत्तिले खल्लो तुल्याएको छ । 

सचिवालयले हालसम्म सांसदलाई बैठक सकिएको एक घन्टासम्म हाजिर गर्ने सुविधा प्रदान गर्दैआएको छ । विद्युतीय हाजिरको व्यवस्थापन हुन सकेमा जनप्रतिनिधिले सदन र संसदीय समितिलाई कति समय प्रदान गर्छन् भन्ने स्पष्ट भई बैठक सकिएपछि भत्ताका लागि आएर हाजिर गर्ने चलन अन्त्य हुनेछ । राजनीतिको मुख्य केन्द्र र खेल मैदानका रूपमा लिइने नेपालको संसद् दुई सदनात्मक छ । सङ्घीय संसद्को प्रतिनिधिसभामा दुई सय ७५ तथा प्रबुद्ध एवं ज्येष्ठ उमेरका वर्ग सम्मिलित राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने तीन व्यक्तिसहित ५९ सदस्य छन् । तल्लो सभामा ३३ प्रतिशत महिलासहित छन् । प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका चार र संयुक्त सदन मातहत दुई विषयगत समिति छन् । विषयगत समिति विधेयक र प्रस्तावमाथिको गहन छलफल हुने थलो हो । 

Logo