नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रश्तावकको रुपमा आफूले हेर्न चाहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आज (मंगलवार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताएका हुन् । उनले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताए ।
महामन्त्री शर्माले देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको बताए । उनले प्रधानमन्त्री देउवा समक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रश्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताए । पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रश्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने उनको भनाई छ ।
उनले भने- ‘यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ । उहाँको सम्मानजनक बहिर्गमन हुनेछ । यदी उहाँले जनजातीबाट प्रकाशमान सिंह, प्रतिष्पर्धी डा. शेखर कोईराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधी, बिपीको छोरालाई दिन्छु भनेर डा. शशांक कोईराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा कामहरु माथि आउनेछन् ।’
उनले अगाडि थपे- ‘प्रधानमन्त्री र राष्ट्रपतिको यो देशलाई जति खोजि छ, त्यो भन्दा धेरै खोजि देशलाई अभिभावकको छ । सबै प्रधानमन्त्री र राष्ट्रपति बन्न लाग्नुभयो, अभिभावक बन्न कोही लाग्नुभएन । पार्टीको महामन्त्री छु, मन्त्री हुने हक म राख्छु तर मलाई अहिले पार्टीको काममा ध्यान दिन जरुरी छ । आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रुपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रश्तावकको रुपमा हेर्न पाइनेछ । म संसदीय दलको नेतामा गगन थापालाई राखेर प्रश्तावक बन्न उभिनेछु ।’































प्रतिक्रिया