नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको बैठक बिहीबार हेटौंडामा बस्दैछ।
प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले दलको नेता चयन गर्ने छ। एमालेमा सर्वसम्मत रूपमा दलको नेता चयन हुने सम्भावना छ। एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदार मानिएका नेताहरू पराजित भएपछि दलको नेतामा धेरै आकांक्षी देखिएका छैनन्। जस कारण एमाले केन्द्रीय सदस्यसमेत रहेका जगन्नाथ थपलिया सर्वसम्मत दलको नेता चयन हुने सम्भावना छ। एमाले सांसद एकालाल श्रेष्ठले हालसम्म दलको नेतामा अन्य कसैले पनि दाबी नगरेको भन्दै सर्वसम्मत रुपमा नेता चयन हुने बताए । उनले कसैको आकांक्षा वा दाबी भए पनि दलको बैठकमा राख्ने भन्दै बिहीबार नै दलको नेता चयन भने हुने बताए।
२७ सिटसहित प्रदेशसभाको दोस्रो दल रहेको एमालेले दोस्रो पटक प्रदेश सरकारको नेतृत्व पाउने सम्भावना बनेको छ। एमालेको नेतृत्वमा केन्द्रमा बनेको गठबन्धनमा बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने विषयमा दलहरूबीच छलफल भइरहेको छ। प्रदेश संरचनाको पहिलो कार्यकालको सुरुको साढे ३ वर्षसम्म एमालेले नै बागमती प्रदेश सरकारको नेतृत्व गरेको थियो।
प्रदेशमा माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको भए पनि केन्द्रमा माओवादीले बागमती प्रदेशको नेतृत्वमा खासै चासो देखाएको छैन। जस कारण पनि बागमती प्रदेशको नेतृत्व नेकपा एमालेले पाउने प्रवल सम्भावना देखिएको हो।सरकारको नेतृत्व एमालेले पाएको खण्डमा दलको नेता मुख्यमन्त्री हुनेछन् । एमालेको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारसमेत बनिसकेका जगन्नाथ थपलिया एमालेबाट बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने सम्भावना छ।































प्रतिक्रिया