सत्ता साझेदार राजनीतिक दलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । ‘सरकारको उद्देश्य प्राप्तिका लागि न्युनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ। यसका लागि हामीले संयोजक तोकेका हौँ,’ उनले भने।
प्रत्येक दलबाट उक्त समितिमा १–१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताए । उनले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए । मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको उनको भनाइ थियो । संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताइएको छ ।
त्यस्तै, प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकार गठनबारे पनि दलहरूबीच छलफल भइरहेको बताइएको छ । ओली नेतृत्वको कार्यदलको बैठक भने भोलिदेखि नै हुने लामिछानेले जानकारी दिए । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ । सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्ने भएका छन् । तीन स्वतन्त्र सांसदले पनि एक–एक मन्त्रालय लिने बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।





























प्रतिक्रिया