एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा सामेल हुँदैन -अध्यक्ष नेपाल

एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा सामेल हुँदैन -अध्यक्ष नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा अध्यक्ष नेपालको यस्तो अडान बाहिर आएको हो । सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि स्पष्ट पारे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसै सामू लड्ने पक्षमा नरहेको समेत बताए । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समिक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाई थियो । 

‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौं । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । त्यसो हुनाले यिनै सोच र मान्यताको आधारमा हामी अगाडि बढनेछौं ।’ उनले भने, ‘संसदको चुनावभन्दा पहिले २०७७ साल पुस ५ गतेको दिनमा प्रतिनिधिसभाको विघटन भयो । त्यसपछि नेपालको राजनीतिले नाटकीय रुप लियो । त्यस भन्दा पहिले नेकपा एमाले भित्र अन्तर संघर्ष चलिरहेको थियो । त्यो अन्तरसंघर्षलाई त्यही भित्र बसेर हल गर्ने हाम्रो चाहना थियो  । तर त्यो हुन सकेन । किन भएन ? त्यसको हामी पछि समिक्षा गरौंला । यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन । कसैसामू लत्रिनु परेको पनि छैन । हामीले ठिक गरेको छौं । दृढताका साथ उभिएका छौं । एकले अर्कालाई आरोपप्रत्यारोप गरेर केही पार लाग्नेवाला छैन ।’ 

अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए । आजबाट सुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । त्यसैगरी बैठकमा निर्वाचनको समिक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

Skip This
Skip This
Logo