प्रधानमन्त्रीको राजीनामा, काम कुराे एकातिर कुम्लाे बाेकि ठिमीतिर: नेता रायमाझी

प्रधानमन्त्रीको राजीनामा, काम कुराे एकातिर कुम्लाे बाेकि ठिमीतिर: नेता रायमाझी

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सहमति विना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । शुक्रबार प्रेस सङ्गठन नेपालले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

नेकपाका स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिए ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले पाटी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए । उनले भने–‘व्यक्ति नभई पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।’

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश संकटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानुको विकल्प नभएको बताएका थिए ।–रासस

Logo