सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम केही दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेका छन्।
केही दिन अघि अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्न समिति बनेको थियो । सो कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । त्यसका लागि आज कार्यदलको बैठक बस्न लागेको कार्यदल सदस्य डाक्टर मुकुल ढकालले जानकारी दिए।
समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको दावी गरेको छ। उक्त समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन्। सत्ता साझेदार दलहरुले आ– आफ्नो राय सुझाव दिइसकेको र कार्यदलका संयोजक रहेका अर्थमन्त्र विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने ढकालले बताए।
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन्। न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या, रोजगारी सिर्जना, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको जनाइएको छ ।
फरक–फरक विचारधारा बोकेका सात राजनीतिक दलको सरकार भएकोले सरकार सञ्चालनमा कुनै व्यवधान नहोस् र सबै दलले अपनत्व लिन सकुन भनेर न्यूनतम साझा कार्यक्रम बनाउन लागिएको हो। वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन् ।





























प्रतिक्रिया