काँग्रेसकाे दाबी- वर्तमान सत्ता गठबन्धनको आयु लामो छैन

काँग्रेसकाे दाबी- वर्तमान सत्ता गठबन्धनको आयु लामो छैन

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको बताएका छन्  । 

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सिमित रहेको बताए । वर्तमान गठबन्धनमा राजावादीदेखि गणतन्त्र नै ठिक हो र संघीयता बिरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्मको सहभागी भएकाले यस गठबन्धनको आयु लामो समय नटिक्ने दाबी उनले गरे । 

प्रवक्ता महतले नेपाली काँग्रेसले गठबन्धन नटुटाएको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाए । उनले अहिलेको गठबन्धनबाट आउने परिणामका बारेमा सचेत रहन पनि आग्रह गरे । 

प्रवक्ता महतले प्रधानमन्त्री दाहालले गठबन्धन तोडेपछि काँग्रेस सन्तुष्ट नरहेको पनि बताए । उनले काँग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष दाहाललाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको बताए । वर्तमान गठबन्धन सरकारलाई अवसर केन्द्रित गठबन्धनको संज्ञा उनले दिए । 

वर्तमान गठबन्धनमा पदीय चाहना बाहेक विचार, दृष्टिकोणमा एकता नरहेको आरोप प्रवक्ता महतले लगाए । उनले अहिलेको सरकार काम गर्ने भन्दा देखाउने कुरामा मात्रै बढी अग्रसर रहेको आरोप लगाए । जनमतको आधारमा नेतृत्व नहुने परिवेश सिर्जना भएको भन्दै आगामी दिनमा यसको गम्भीर छलफल हुनुपर्ने उनको भनाई छ । 

‘वैकल्पिक गठबन्धनको सरकार बनेको छ, यो अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । त्यसमा राजतन्त्र चाहिनेदेखि लिएर राजतन्त्र कुनैपनि हालतमा हुँदैन, गणतन्त्रकै बाटोमा जानुपर्छ भन्नेदेखि संघीयता चाहिन्छ, चाहिँदै चाहिँदैन भन्नेदेखि विभिन्न स्वरुपका पार्टीहरु एक ठाउँमा पदीय चाहनाबाट उन्मुख भएर यो गठबन्धन बनेको छ ।’ उनले भने,  ‘विचार, दृष्टिकोणमा एकता छैन, कुन दलले ठूलो जिम्मेवारी प्राप्त गर्ने भन्ने अवस्थामा रुमल्लिएको छ । नो नट अगेन जस्तो नारा लिएर आउनेहरु पनि उहाँहरुको प्रतिष्पर्धा सत्ता गठबन्धनमा रहेर कुन पदमा बस्ने भन्नेमा सिमित छ । कन्टेन भन्दा देखाउने कुरामा ज्यादा केन्द्रित भएको छ । यो गठबन्धनको सरकारको बिरोधाभाषपूर्ण अवस्था छ । त्यो बोझबाट नै यो गठबन्धनको आयु छोटिनसक्ने प्रशस्त सम्भावनाहरु छन् ।’
 
प्रवक्ता महतले आगामी दिनमा नेपाली काँग्रेस सशक्त प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुने प्रतिवद्धता जनाए । उनले नेपाली काँग्रेस पार्टी प्रतिपक्षमा रहुन्जेलसम्म सशक्त प्रतिपक्षको रुपमा विकास, रोजगारी, सुशासनका विषयलाई उजागर गर्ने बताए । आगामी दिनमा पार्टी संगठन बिस्तार, पार्टीमा एकता, व्यक्तिकेन्द्रित नभइ विषय, लक्ष्य केन्द्रित भएर काम गर्नेमा लाग्ने पनि बताए । पार्टी सभापति शेरबहादुर देउवाको बिरोध गर्नेहरुले नै काँग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि काँग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने उनले बताए । 

काँग्रेसले पुस २८ गते १ बजेका लागि केन्द्रिय समितिको बैठक बोलाएको छ ।  

Skip This
Skip This
Logo