राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागिताका लागि अन्तिम तयारीमा जुटेको छ ।
स्रोतका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको राप्रपाले उपप्रधानसहित बढीमा तीन मन्त्रालयको दाबी गरेको छ । “अध्यक्षज्यूकै नेतृत्वमा सरकारमा जाने हो,” स्रोतले भन्यो, “बढीमा तीन मन्त्रालयको दाबी हो । मन्त्रालय त कुन–कुन हो म भन्दिनँ । तर, विकास केन्द्रित मन्त्रालयको माग हाम्रो हो ।”
राप्रपाले साझा न्यूतम कार्यक्रम आएपछि स–सर्त सत्तामा जाने निर्णय गरेको छ । कार्यक्रममा पृथ्वी जयन्तिमा बिदा दिनुपर्ने, मन्त्रिपरिषद्को निर्णय अख्तियारले छानबिन गर्न पाउनुपर्ने, मल अभाव समाधान गर्न मल प्रशोधन कारखाना स्थापनाको काम यसै आर्थिक वर्षभित्र सुरु गर्नुपर्ने लगायत विषय साझा न्यूनतम कार्यक्रमभित्र पर्नुपर्ने राप्रपाको माग छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे पछि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरिसकेको छ ।































प्रतिक्रिया