राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यकः राष्ट्रपति

राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यकः राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताएकी छन् । 

बिहीवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउनसकिने बताइन् । 

राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिनुपर्ने बताइन्  । उनले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिष्थापन गर्ने, तथा पर्यटन प्रवद्र्धन  जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु नेपाल सरकारले अवलम्वन गर्नु अति आवश्यक भएको पनि बताइन् । 

राष्ट्रपति भण्डारीले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरिसकेको उल्लेख गर्दै उल्लेखित क्षेत्रहरुमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरु अवलम्वन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिष्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी सबैको दायित्व भएको बताइन् । उनले निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको बताइन् । 

मुलुकको अर्थ व्यवस्था बलियो बनाए केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुनुकका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरु सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिने राष्ट्रपति भण्डारीले उल्लेख गरिन् । उनले अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक रहेको र आफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक भएको बताइन् । 
 
राष्ट्रपति भण्डारीले घरेलु उत्पादनको रुपमा रहेका नेपाली फुटवेयर उत्पादनहरुले स्वदेशी जुत्ताचप्पल बजारमा ठूलो स्थन ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजागरी प्रदान गरेकोप्रति खुशी प्रकट गरिन् । उनले नेपाली उत्पादनलाई गुणस्तरसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली फुटवेयर उत्पादनका लागि बजार उपलब्ध हुनसक्ने बताइन् । बजार बिस्तारमा प्राप्त हुने अवसरहरुको खोजि गर्दै अवसरको सदुपयोग गर्न उद्यमीहरुलाई उनले आग्रह गरिन् । 

Logo