नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मत दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।
सरकार कुन ढंगले अगाडि बढछ ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो । शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राखे ।
‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सदभाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भईदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईहरुले भनेजस्तो कुनै ठोस कुराहरु भएका छैनन् । उनले भने, ‘जुन गाउँ जानु छैन । जब कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अव यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं । अव विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नु पर्छ ।’
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे । उनले इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताए ।
अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए । अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढने उनले बताए । ‘अहिले हामीले जनता समाजवादी पार्टीसँग हामी वार्ताको प्रक्रिया आरम्भ गर्नेछौं । त्यहाँ पहिले विषयबस्तुको बारेमा छलफल हुनेछ । विषयबस्तुको बारेमा छलफल भईसकेपछि सहकार्यका प्रक्रियादेखि लिएर पार्टी एकताको प्रक्रियासम्म हाम्रा कुराकानीहरु हुनेछन । र, तदनुरुपनै विभिन्न दलहरु छन् ।’ उनले भने, ‘अहिले धेरै साना वामपन्थी दलहरु पनि छन । ती सबैसँग पनि हामी विभिन्न हिसावले कुराकानी गर्नेछौं । चिठी पठाएर गर्ने हो कि ? फोन संवादबाट गर्ने हो कि । जो हामीप्रति पोजेटिभ छन । तिनीहरुसँग हामी पोजेटिभली जान्छौं । जो हामीसँग नेगेटिभ छन्, तिनीहरुसँग हामी पनि वास्ता गर्दैनौं । जुन गाउँ जानै छैन, त्यसको बाटो नै नसोध्नू ।’
अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताको इस्यूलाई उठान गरेर अघि बढ्ने काममा आफ्नो पार्टीको ध्यान जाने पटकपटक दोहो-याए ।





























प्रतिक्रिया