सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनि प्रश्न समेत गरे । पार्टीका सांसदहरुका लागि शनिबारबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताए ।
नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसकेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि समेत व्यक्त गरे ।
‘हामीबाट छुटेर गएकाहरु टर्च बालेर खोज्नुपर्छ भन्नेहरु राष्ट्रिय पार्टीको हैसियतमा छैनन् । बुझ्न प-यो नि अव त । अव जुरो हल्लाएर काम छैन । त्यसकारण जुरो हल्लाउने, सिंगौरी खेल्ने होइन, सुरुसुरु देश र जनताको निम्ति काम गरौं । हाम्रो आग्रह सबैसँग छ । देशका लागि काम गरौँ न ।’ उनले भने, ‘हिजोअस्ती पोलिटव्यूरो स्थायी कमिटी बैठक एस भन्ने पार्टीको बस्यो । पहिलेको यो परिवर्तन ठिक छ । देश र जनताको पक्षमा यो परिवर्तन भएको छ । यो अहिलेको नयाँ सरकार ठिक छ भन्ने पनि फैसला गर्न सकेन । एमालेसँग एकता गर्छ पनि भन्छ पाए । पाए माओवादी केन्द्रसँग गर्छु भन्छ । जसपासँग पनि वार्ता गरिरहेको छ । जसपा र एमालेलाई उस्तैउस्तै देख्छ । जसपा भएपनि यो त अचम्मै भो क्या । जसपासँग पनि एकताको वार्ता, एमालेसँग पनि एकताको वार्ता भनेपनि कस्तो वार्ता हो त्यो । पाए काँग्रेससँग पनि लाग्ने, यता पनि लाग्थे । कस्तो वार्ता हो यो ? कस्तो राजनीति हो, कस्तो दृष्टिकोण हो ? कस्तो नीति हो ? पुग्न कहाँ खोज्या ? राजनीति छ कि छैन ? श्वार्थ मात्रै हो कि एकछिनको, राजनीति छ त्यहाँ ? कि सिद्धान्त पनि छ ।’





























प्रतिक्रिया