पुस २५ गते (भोलि) अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी गराएका हुन् । आईतबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै कामहरु पूरा गरिएको बताए ।
संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई थियो ।
उनले भने- ‘सम्पूर्ण कुराहरु हामीले एकएक गरेर हाम्रा प्राविधिक कर्मचारीहरुको सहयोगले उहाँहरुले त्यो परीक्षण गरिसक्नुभएको छ । हामीले आज पनि त्यो ट्रायलको रुपमा हेरेका थियौं । सबै हिसावले हामी अधिवेशनका तयारीको काम पूरा गरेका छौं । कर्मचारीहरुलाई खटाउने कुराको पनि व्यवस्था गरेका छांै । अरु साजसज्जाका कुराहरु, सरसफाईका कुराहरु हामीले पूरा गरेका छौं । यसका साथै हामीले दुवै सभाका लागि आवश्यक पूर्व बैठकहरु जस्तो प्रतिनिधि सभातर्फ कार्य व्यवस्था परामर्श समिति थिएन । अहिलेसम्म भएको छैन । अब बिस्तारै होला । त्यसका लागि हामीले नयाँ बैठक प्रारम्भ हुनुभन्दा अगाडि सबै दलको प्रतिनिधित्व हुनेगरी प्रतिनिधि सभाका सदस्यहरुको सर्वदलीय बैठक सम्पन्न गरेका छौं । राष्ट्रिय सभा अन्तर्गतपनि आज कार्य व्यवस्था परामर्श समितिको बैठक सम्पन्न भयो । ती बैठकहरुले गरेका निर्णयहरुको आधारमा सचिवालयले गर्ने अरु तयारीका कामहरु आज गरेको छ । हाम्रा तयारीहरु दुई खालका हुन्छन् । एउटा अधिवेशन आह्वान पूर्वको तयारी । अर्को, अधिवेशन पश्चातको तयारी । अधिवेशन पश्चातको पनि हाम्रो दुई खालको तयारी हुन्छ । एउटा तत्काल शुरु गर्छौंं । र, अर्को हिजोआजबाट प्रारम्भ गरेको सम्पन्न गरेका हुन्छौं । यी सबै कामहरु हामीले सम्पन्न गरेका छौं ।’
संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरुलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए । संघीय संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ ।
अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरुले बोल्ने कार्यसूचि तय गरिएको छ । संघीय संसदमा सांसदहरुले पनि ईहाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा शुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया