प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, विपक्षमा २ मत मात्रै

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, विपक्षमा २ मत मात्रै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा मंगलवार भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् । उनले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा २६८ जनाले मतदान गरेका छन् भने विपक्षमा २ मत मात्रै खसेको छ । प्रतिनिधिसभाकाे मतदानमा २७० सांसद्को सहभागीता रहेको थियो ।  

बहुमतसहित प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणासमेत गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदलेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

तर, राष्ट्रिय जनमोर्चा र नेमकिपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेकाे थियाे । २७५ सांसदहरूमध्ये अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित थिए । यस्तै, सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा थिए भने फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित रहे ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् । योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले संसदबाट विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभाका सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Logo