बागमतीको सभामुखमा तीन जनाकाे उम्मेदवारी, कांग्रेस पनि मैदानमा

बागमतीको सभामुखमा तीन जनाकाे उम्मेदवारी, कांग्रेस पनि मैदानमा

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् ।

शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुन् भने सायजु नेपाल मजदुर किसान पार्टीकी हुन् । बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिएका हुन् । साथै नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । 

सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २ः०० बजेसम्मका लागि तोकिएको थियो । बागमती प्रदेशसभाको भोलि शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभामा एक सय १० जना सांसद रहेका छन् । 

प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजिनक गर्ने सचिवालय सचिव एवं निर्वाचन अधिकृत खड्काले जानकारी दिए । 
 

Logo