को हुन् सभामुखका उम्मेदवार देवराज घिमिरे ?

को हुन् सभामुखका उम्मेदवार देवराज घिमिरे ?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट सभामुखका उम्मेदवार देवराज घिमिरे पाँच दशक लामो अविरल राजनैतिक यात्रामा कहिल्यै पदीय लोभ लालच नराखी आफ्नो सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पित गरेका नेकपा एमालेका नेता हुन् । 

नेता घिमिरेको जन्म ताप्लेजुङको श्रीजंगा गाउँपालिका-३ मा बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट २०१३ साल जेठ १३ गते भएको थियो । गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरेका घिमिरेले काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्नातक तहको अध्ययन गर्दा गर्दै पार्टीको बुर्जुवा शिक्षा बहिष्कार गर्ने निर्णय मान्दै पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लागेकाथिए । 

राजनीतिमा प्रवेश 
वि.सं.२०३१ सालमा झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए । २०३३ सालमा बुर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँ गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटेका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा पार्टी सदस्यता प्राप्त गरेका थिए ।

राजनीतिक जिम्मेवारी
२०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा संगठकको रुपमा पार्टीको विकास र विस्तारमा योगदान गर्ने काम गरे । नेकपा मालेका भूमिगत राष्ट्रिय भेला र कार्यक्रममा सहभागी घिमिरे २०४६ सालको भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भए । भूमिगत पार्टी जीवनमा विशिष्ट योगदान पुर्याएकै कारण घिमिरे नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भए ।

इलाम जिल्लाको सबैभन्दा लामो पार्टी प्रमुख
इलामका नेता शहीद रत्नकुमार वान्तवाको हत्यापछि इलाममा पञ्चायती दमन बढिरहेकाबेलानेता इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी समेत उनले सम्हालेका थिए । नेता घिमिरेको राजनीतिक क्रियाशीलताले तर्सिएका पञ्चायती शासकहरुले २०३६ देखि उनलाई वारेन्ट जारी गरे । पञ्चायती दमन, सहयोद्धाहरुको बर्बरतापूर्वक हत्या हुँदासमेत पार्टी नीति र निर्णयलाई शिरोधार्य गर्दैनेता घिमिरेले २०३६ देखि २०४६ सम्म १० वर्ष भन्दा बढी कठिन भूमिगत जीवन पार्टी निर्माणमा बिताए ।

२०५० सालदेखि मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाएका घिमिरेले सहकर्मीहरुलाई छोड्दा छोड्दै लामो समयसम्म प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन पाएका थिएनन् । २०४८ सालको निर्वाचनमा मदन भण्डारीले १ क्षेत्रबाट झलनाथ खनाल र अर्को क्षेत्रबाट देवराज घिमिरेलाई उम्मेदवार बनाउने प्रस्ताव गर्दा जातीय हिसाबले आफू उठ्नुभन्दा जनजाति नेतालाई उम्मेदवारी दिलाएर इलामका दुबै क्षेत्रबाट पार्टीलाई विजयी गराउन नेता घिमिरे सफल भएका थिए ।

२०५८ सालमा माधव नेपालले पार्टीको नेतृत्व गरेपछि फरक धारका देवराज घिमिरेलाई भूगोलको जिम्मेवारीबाट हटाएर पार्टीका केन्द्रीय विभागहरुमा इन्चार्जको जिम्मेवारी दिएका थिए । घिमिरेले इन्चार्जसीप गरेका स्वास्थ्य विभाग, इन्जिनियरिङ विभाग, युवासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्रध्यापक संघले उनको कार्यकालमा अव्वल जनसंगठनको रुपमा परिचालित भए । गुटगत राजनीतिको शिकार बनेका घिमिरले मदन भण्डारी फाउण्डेशनको कार्यालय प्रमुख भएर फाउण्डेशनलाई देशको कुना-काप्चासम्म विस्तार गर्न योगदान गरेका छन् । विसं २०५६ सालमा राष्ट्रिय सभा सदस्य रहेका घिमिरे राजनीतिमा अविचलित योद्धाका रुपमा पार्टी पङ्क्तिमा परिचित छन् । 

सादा जीवन शैली र निष्ठाको राजनीतिमा लागेका नेता घिमिरे आम निर्वाचन २०७९ मा झापा २ मा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीका विश्वास पात्र 
देवराज घिमिरेलाई समकालीन राजनीतिमा निष्ठावान र जननेता मदन भण्डारीले पत्याएका नेताका रुपमा चिनिन्छ । २०४८ सालको निर्वाचनमा आफूले प्राप्त गरेको टिकट समेत जनजाति नेतालाई दिई पार्टीको छवि उच्च बनाएकोमा मदन भण्डारी उनीबाट प्रभावित भएका थिए । त्यसैले मदन भण्डारी महासचिव हुदाँ पार्टीको केन्द्रीय कमिटीमा जिम्मेवारी दिई उनको योगदानलाई सम्मान गरेका थिए । मदन भण्डारीको रहस्यमय हत्यापछि उनको स्मृतिलाई जीवन्त राख्नम नेकपा एमालेका केन्द्रीय नेताहरुको अगुवाईमा स्थापना भएको मदन भण्डारी फाउण्डेशनमा कार्यालय प्रमुख भएर जिम्मेवारी निर्वाह गरेका थिए । फाउण्डेनको कार्यालय प्रमुखको जिम्मेवारीलाई मदनको लिगेसीलाई विद्या भण्डारीले निरन्तरता दिएको रुपमा एमाले वृतभित्र चर्चा गरिन्छ ।

२०७१ सालको नवौँ राष्ट्रिय महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित भए । निर्वाचित अध्यक्ष ओलीले पार्टीभित्रको विभिन्न धारहरुलाई संयोजन गर्न देवराज घिमिरेलाई नै रोजे । ओलीकै रोजाईमा उनले सचिवालय प्रमुख भएर २०७४ को अन्तिमसम्म केपी ओलीलाई सहयोग पुर्याए । घिमिरेले आफू अध्यक्षको प्रमुख सल्लाहकारको रुपमा रहँदा दिएको सही सल्लाहले उपयुक्त व्यक्तिले निर्वाचनमा टिकट पाएको र त्यही आधारमा एमालेको गुमेको लोकप्रियता पुनःस्थापित भएको दाबी गरे ।

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकरण भएपछि २०७५ असोज १ देखि नेकपा प्रदेश नं.१ को अध्यक्ष बनेका घिमिरे पूर्ववत अवस्थामा पार्टी फर्किए पनि नेकपा एमालेको अध्यक्षकै रुपमा क्रियाशील छन् ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी दिएका घिमिरेले वर्तमान राजनीतिलाई सही दिशामा डोर्याउन र अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग पुर्याउन आफूले उम्मेदवारी दिएको दाबी गर्छन् । नेकपा एमालेभित्र बढ्दै गएको मनी र मसलको राजनीतिमा त्यागी र सादगी नेताको रुपमा परिचित छन् घिमिरे । 

घिमिरे जस्ता शालीन र बौद्धिक व्यक्तिले सभामुख जस्तो जिम्मेवारी पाउँदा आम कार्यकर्ता र समग्र नेपालीमा राजनीतिप्रतिको दृष्टिकोण सकारात्मक बन्नेमा धेरैको विश्वास रहेको छ ।

Logo