मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन् ।
बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शुन्यमा पु-याउने प्रतिवद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो ।
उनले भ्रष्टाचार छानविनका लागि आफूले ५ सदस्यीय छानवीन समिति गठन गरेको पनि स्मरण गराए ।
मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढने कार्ययोजनासमेत सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रमसमेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाई थियो ।
त्यस अवसरमा उनले आवश्यक परे पुरक बजेट ल्याउन सकिने पनि बताए ।
बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहेका थिए । यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।
प्रतिक्रिया