नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरे यस्तो बताएका हुन् । उनले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताए । ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधि सभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु । विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।’ उनले भने ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् । प्रस्तावकको विपक्षमा अर्थात् नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले १०० मत प्राप्त गरिन् । एक जनाले कसैलाई मत दिएनन् ।
एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।
विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए । उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्जसमेत हुन् ।





























प्रतिक्रिया