आयुर्वेदले स्वर्ग र पुनर्जन्मको ठेक्का लिँदैनः अध्यक्ष ओली

आयुर्वेदले स्वर्ग र पुनर्जन्मको ठेक्का लिँदैनः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताएका छन् । 

आईतवार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताए । 

उनले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताए । 

अध्यक्ष ओलीले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभइ कर्तव्यका रुपमा पूरा गर्न आग्रह गरे । ‘मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो । हिसाव गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौँ । परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले ।’ उनले भने, ‘तर नलेजको ओर्जिनल श्रोत मानवका इन्द्रियहरु नै हुन् । मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरौँ, अत्याधिक रुपमा तर उपचार पद्धतिमात्रै होइन जीवनपद्धतिकै रुपमा प्रयोग गरौँ । हामीले उपचारको कुरा ड्युटी झैँ होइन कर्तव्य झै गरेर पूरा गरौँ, यी दुई फरक कुराहरु हुन् ।’

अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविकदेन भएको बताए । उनले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको बताए । उनले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताए । 

उनले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताए । उनले आयुर्वेदले मरेपछि स्वर्ग पु-याउने, पुनःजन्म गराउने ठेक्का लिने नभइ जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाँच्ने भन्नेकुरा सिकाउने बताए । 
 
अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परेपनि अब बढ्ने समय आइरहेको बताए । उनले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताए । 

Logo