सालकलाई मकवानपुरको ‘गौरव प्राणी’ घोषणा गरिँदै

सालकलाई मकवानपुरको ‘गौरव प्राणी’ घोषणा गरिँदै

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तुको रूपमा रहेको सालक‘प्यागोलिन’ लाई मकवानपुरको ‘गौरव प्राणी’ घोषण गरिने भएको छ। 

विश्वमै दुर्लभ अवस्थामा रहेको वन्यजन्तु सालक मकवानपुरको हेटौँडा उपमहानगर सहित मकवानपुरगढी, बकैया क्षेत्रमा पाइन्छ । यहाँका चुच्चे खोला, रानी, पीप्लेपोखरा, सुन्दर सहित आधा दर्जन बढी सामुदायिक वनले संरक्षण गर्दै आइरहेको सालकलाई मकवानपुरको ‘गौरव प्राणी’ घोषणा गर्न लागिएको हो । प्रत्येक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिवार मनाइने सालक दिवसको अवसरमा फागुन ६ गते मकवानपुरमा कार्यक्रमको आयोजना गरी गौरव प्राणी घोषणा गर्न लागिएको हो ।

मकवानपुरमा सयौँको संख्यामा सालक संरक्षणमा रहेका छन् । आगामी फागुन ६ गते डिभिजन वन कार्यालय राप्तीको अगुवाइमा जिल्ला समन्वय समिति मकवानपुरको अभिभावकत्व एवम् स्थानीयतहहरुको व्यवस्थापकीय सहयोगमा गौरवको प्राणी घोषणा गर्न लागिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताए ।

विश्वबाट नै लोप हुन लागेको सालक नेपालको मकवानपुरमा सयौँको संख्यामा रहनु हाम्रो लागि गौरवको विषय भएको भन्दै सालकलाई मकवानपुरको गौरवको रूपमा घोषणा गर्न लागिएको उनले बताए । प्रमुख आचार्यका अनुसार आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो ।

पछिल्लो समय सालकको मासुले रोगव्याधि काट्ने पोसिलो हुने अन्धविश्वासको कारण सालकको खपटा तथा मासुको चोरी निकासी हुने प्रचलन बढेको कारण सालको संरक्षणमा चुनौती थपिएको उनको भनाई रहेको छ । तर मकवानपुरमा भने सचेत नागरिकहरूले सालको संरक्षणमा ध्यान दिएको उनले बताए । सालक समुन्द्री सतहबाट करिब दुई हजार मिटरसम्म पाइने स्तनधारी जीव हो । सालकले घमाइलो र जुका नलाग्ने ठाउँमा वासस्थान बनाउँछ । झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा खबटा हुन्छ ।

सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ । सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । यसको रंग माटोसँग मिल्दोजुल्दो देखिन्छ । आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । कतैबाट आक्रमण वा खतरा महसुस भयो भने यो भाग्दैन तर भकुन्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ । खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ ।

Logo