बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीको टुङ्गो लगाएको छ ।
मंगलबार प्रदेशमा हाल कायम रहेको १४ मन्त्रालय घटाएर ११ बनाउने निर्णय भएको थियो । सोहीअनुसार प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित ४, नेकपा (एमाले) ले ४ र राप्रपाले ३ मन्त्री पाउने भएका छन् । सहमति भएअनुसार नै दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् । मन्त्रालय संख्या टुंगिएसँगै मुख्यमन्त्री शालिकराम जमकट्टेलले बुधबार मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।
माओवादी संसदीय दलका नेता जम्कट्टेल प्रदेश मुख्यमन्त्री हुनुहुन्छ । यस्तै, माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।
यस्तै, नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् ।
यसैगरी, राप्रापाबाट विना विभागीय मन्त्री बनेका दलको नेता उद्धव थापा खानेपानी मन्त्री बन्ने भएका छन् भने डम्बर तामाङ उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।































प्रतिक्रिया