नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन् ।
गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९औँ वार्षिकोत्सब समारोह उद्घाटन गर्दै उपसभापति खड्काले प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक भएको बताए ।
“अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,” उनले भने, “यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ ।”
उपसभापति खड्काले विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताए ।
“गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवन पद्धति सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,” उनले भने, “अनुशासन, चरित्रवान र जीवन पद्दति बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो ।”
उपसभापति खड्काले विद्यालयले राखेका माग पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । विद्यालयलाई आवश्यक बसका साथै पूर्वाधार निर्माणको माग पूरा गर्ने उनको भनाइ छ ।
उपसभापति खड्काले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता पनि दोहो-याए । “सरकार फेरबदल हुँदा चुनावमा गरिएका वाचा पूरा हुँदैनन् कि भन्ने मतदातामा चिन्ता देखियो,” उनले भने, “हामीले पाँच वर्षका लागि जे–जे वाचा गरेका थियौँं, ती सबै पूरा हुन्छन् ।”































प्रतिक्रिया