दान पेटिकाको रकममा आफ्नो तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्छु -मन्त्री किराती

दान पेटिकाको रकममा आफ्नो तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्छु -मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई बधाई दिन आउनेले ल्याउने खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शैक्षिक विकासमा लगानी गर्ने बताएका छन्।

उनले आफू मन्त्री भएलगत्तै बधाई दिन आउनेलाई खादा, माला नल्याउन बरु त्यसबापतको रकम दान पेटिकामा जम्मा गर्न भनेर मन्त्रालयमा दान पेटिका राखेका थिए। माघ १३ गते देखि दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले जम्मा भएको रकममा आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधान समेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन्।

बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४ सय ३४ रकम जम्मा भएको मन्त्री किरातीले जानकारी दिएका छन्। संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए। मन्त्री किरातीले समाजिक सञ्जाल मार्फत उक्त जानकारी दिँदै विद्यालय छनोट गरी चाँडै हस्तान्तरणगरिने बताएका छन् ।

उनले लखेका छन, ‘आम जनताको लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने मानुभावहरूबाट खादा र माला लिनको सट्टा दान पेटिका राख्यौं। बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, मेरो एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत यसैमा जोडेर  जम्मा रू ६ लाख ४ सय ३४ भएको जानकारी गराइन्छ’, मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दान पेटिका राख्ने कार्य माघ १३ गते देखिनै बन्द गरिएको छ। उक्त सुन्दर अभियानमा सहभागी सबैमा धन्यवाद व्यक्त गर्दछौँ। माथि उल्लेखित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ। विद्यालयको नाम र हस्तान्तरण कार्य चाँडै सार्वजानिक गरिनेछ।’

Logo