सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उपाध्यक्ष नेम्वाङले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढन आफूहरु सक्षम रहेको पनि पटकपटक दोहो-याए ।
शहिद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तरगत हामी राजनीतिक दलहरुले यसलाई एउटा टुंगोमा पु-याउन सक्षम छौं । पु-याउँछाैँ । यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन ।’
उनले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए । संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाई थियो ।
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्व समक्ष रहेको बताए । उनले नेपालको संविधान शहीदहरुको भावना अनुसार बनेको पनि बताए ।





























प्रतिक्रिया