राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
सर्वोच्च अदालतबाट भएको आदेशअनुसार प्रशासनबाट आइतबार नेपाली नागरिकता कायम भएसँगै रास्वपाको सभापतिमा पुनः चयन भएका लामिछानेले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।
भेटमा लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफू उपप्रधान तथा गृह मन्त्रालयमा फर्किने चाहेको बताएका थिए । उनले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न अनुरोध गरेका हुन्। त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने सत्ता साझेदार दलहरु र कानुनविद्सँग परामर्श गरेर अघि बढ्ने बताएका थिए ।
अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्चको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै रास्वपाको सभापति पद पनि उनले गुमाएका थिए ।
तर, आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेका लामिछाने धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकबाट सबै प्रक्रिया पुरा गरेर सभापतिमा पुनः चुनिएका थिए । पार्टी सभापतिमा चयन भएका लामिछानेले राजनीतिक भेटवार्ता पनि थालेका छन् ।





























प्रतिक्रिया