संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण छैन -सभामुख घिमिरे

संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण छैन -सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन् । 

सोमवार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् । उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु संप्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भुमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए । 

उनले पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताए ।  

सभामुख घिमिरेले पत्रकारले संप्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाए । उनले समाजलाई सचेत गराउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए । समाजलाई सचेत बनाउने भुमिकामा पत्रकारितालाई लानुपर्नेमा उनले जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उनको भनाई छ । उनले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताए । 
 
सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे । उनले शहीदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे ।  

Logo