राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दिएका छन् ।
आईतबार दिउँसो संघीय संसद भवनको लोत्से हलमा पुगेर अर्यालले सो पदमा उम्मेदवारी दिएकी हुन् । सत्तारुढ दलहरुको तर्फबाट साझा उम्मेदवारी दिएकी उनको प्रस्तावमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन् भने समर्थकमा नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा रहेका छन् ।
पूर्वमन्त्री समेत रहेकी अर्यालले राष्ट्रियसभाको उपाध्यक्षको रुपमा आफूले तटस्थ भूमिका निर्वाह गर्ने बताइन् । उनले सञ्चारकर्मीमाझ आफूले कार्य सम्पादन गर्दा दलीय गन्ध आउन नदिने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
‘पदको गरिमालाई नै पहिला विचार गर्ने हो । जहिले जुन पदमा भईन्छ, त्यही पदको आचरण अनुसार अघि बढनु हाम्रो दायित्व हो । र, नैतिकता पनि हो । त्यही अनुसार मैले तटस्थ भूमिका निर्वाह गर्नेछु ।’ उनले भनिन्, ‘कुनै पनि दलको माननीयज्यूहरुको तर्फबाट कुरा उठदा मेरो चाँही संयोजन र सहयोग, त्यसमा मेरो कुनै पनि दलीय गन्ध आउन दिनेछैन भन्ने यहाँहरुलाई जानकारी गराउँछु । माननीयज्यूहरुको क्षमता अभिवृद्धि गराउने कुरामा पनि आफूले ध्यान दिनेछु । र, यसलाई अलि गरिमामय बनाउने कुरामा मेरो प्रयत्न रहन्छ ।’
विपक्षी दल नेपाली काँग्रेस लगायतका दलहरुले उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ । माघ २३ गते सोमबार सो पदको निर्वाचन हुने गरी राष्ट्रियसभा बैठक बोलाइएको छ ।































प्रतिक्रिया