सांसदहरुले आफूहरु सांसद भएकाले संविधानको भन्दा बढी विशेषाधिकार चाहिने मानसिकता सहितको तर्क गर्न थालेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रवारको बैठकमा सदस्यहरुबीच नै भनाभनको स्थिति उत्पन्न भएको छ ।
सांसदहरु स्वयं नियममा बाँधिने विषयमा राखिने प्रावधानका सम्बन्धमा मत ऐक्यता नभएपछि सदस्यहरुबीच भनाभनको स्थिति उत्पन्न भएको हो । फौजदारी अभियोगमा पक्राउ परेर मुद्दाको अन्तिम किनारा नलागेसम्मका विभिन्न चरणमा सांसदको पद र सुविधा के कस्तो हुने भन्ने सम्बन्धमा गरिने व्यवस्थाका बारेमा समिति सदस्यहरुबीच मत भिन्नता देखिएको थियो ।
यसै क्रममा छलफलबाट प्राप्त निस्कर्ष सुनाउन लाग्दा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सचिवालयका कर्मचारीले छलफलमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोखे ।
यसअघि बैठकमा न्यायलयको निर्णयमा विश्वास नरहेको भन्दै सांसदलाई नियममा बाँध्ने विषयमा असहमति जनाउँदै आएको सांसद सिंहले त्यसको सम्पूर्ण रिस प्रवक्तामाथि खन्याउँदै “तपाई एमालेको कार्यकर्ता हो ? सुवासचन्द्र नेम्वाङसँग मात्रै खुसुखुसु गर्नुहुन्छ” भनेपछि बैठककक्षको वातावरण खलबलिएको थियो ।
सांसद सिंहले समिति सदस्य एवं संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङलाई “गिरिस चन्द्रलालको रिपोर्ट किन सार्वजनिक गर्नुभएन” भनी प्रश्न गरेपछि अर्का सदस्य महेश बर्तौलाले बैठकमा नियमापत्ति गरेका थिए । बैठकको बहस विषय वस्तुभन्दा बाहिर जान थालेपछि सभापति चित्रबहादुर केसीले विषयकेन्द्रित हुन निर्देशन दिनुपरेको थियो ।





























प्रतिक्रिया