उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् ।
शनिवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङदेनले यस्तो दाबी गरेका हुन् । उनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरुले नै भन्ने गरेको बताए ।
नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरुले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने उनले बताए ।
उनले विद्यार्थीहरु राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लर अनुशासन हीन उत्पादन गर्ने संगठन नभइ देशभक्त उत्पादन गर्ने संगठन भएको बताए । आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने उनले दाबी गरे ।
मन्त्री लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । उनले विद्यार्थी नेताहरु स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भएपनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए ।
काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर उनले गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँ भन्नेलाई अनुशासनहीन हुने छुट नरहेको बताए ।





























प्रतिक्रिया