‘जनयुद्ध दिवस’ मनाउने निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले बहिस्कार गरेका छन् भने सो बैठकमा सहभागी एमालेका केही मन्त्रीहरुले भने असहमति प्रकट गरेका छन् ।
उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेन, सहरी विकास मन्त्री बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान कानुन मन्त्रीले प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा बोलाएको मन्त्रीपरिषद बैठकमा अनुपस्थित भएर असमति जाहेर गरेका हुन् । प्रधानमन्त्री कार्यालय, सिंहदरवारबाट १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने अजेन्डा रहेको जानकारी पाएपछि बैठकमा अनुपस्थित भएर राप्रपाले असहमति जनाएको सो पार्टीका एक बरिष्ठ मन्त्रीले जानकारी दिए ।
‘प्रधानमन्त्री कार्यालयबाट आकस्मिक रुपमा मन्त्री परिषदको बैठक हुने खबर आयो, हामीले कुन अजेन्डामा बस्न लागेको हो ? भनेर सोध्दा प्रधानमन्त्रीले फागुन १ लाई ‘जनयुद्ध दिवस’को रुपमा मनाउने र सार्वजनिक बिदा दिने अजेन्डा तय भएको छ, भन्ने आयो, सो जानकारी भए पछि हामी आइतबारको मन्त्रीमण्डलको बैठकमा नै सहभागी भएनौं,’ राप्रपाका ती मन्त्रीले भने ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको आकस्मिक बैठकमा राप्रवाबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरु अर्थात उपप्रधान तथा उर्जा मन्त्री लिङ्देन, सहरी विकास मन्त्री पाण्डे र कानुन तथा संसदीय मामिला मन्त्री प्रधानले ‘पहिला नै कार्यक्रम तय भएको बैठकमा आउन नसक्ने’ जानकारी दिदैँ अनुपस्थित भएका हुन् ।
उता, बैठकमा सहभागी मन्त्रीहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने र सार्वजनिक बिदा दिने प्रस्ताव ल्याएका थिए । ‘प्रधानमन्त्री प्रचण्डले ल्याएको उक्त ठाडो प्रस्तावमा मुख्यतः परराष्ट्र मन्त्री बिमला राई पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले धेरैवटा सार्वजनिक बिदा दिने निर्णय गर्दा सरकार विवाद पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ठाडो प्रस्ताव फिर्ता लिनु पर्ने र पारित नगर्न अनुरोध गरेका थिए,’ बैठकमा सहभागी एमालेका एक मन्त्रीले भने ।
उनका अनुसार केही दिन अघि मात्रै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गर्ने सार्वजनिक अभिव्यक्ति स्मरण गराउँदै बैठकमा सहभागी एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई आफनो ठाडो प्रस्तावमा पुर्नविचार गर्नसमेत आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आफ्नो अधिकार प्रयोग गर्दै ठाडो आदेशमा १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गराएर छाडे पछि आज देशैभरी सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारले १ फागुनलाई औपचारिक रुपमा ‘जनयुद्ध दिवस’ मनाउन लागेको यो पहिलो पटक हो ।































प्रतिक्रिया