विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने

विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचन पछि हुने बताएकी छन् । 

मंगलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् । नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताइन् । 

त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने प्रवक्ता शर्माले जानकारी गराइन् । राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन् । निर्धारित समयभित्रै विश्वासको मत लिइने उनको भनाई थियो ।  

उनले देशमा फेरिएको राजनीतिक परिस्थितिका कारण संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालिन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल जान नसकेको पनि बताइन् । सो कार्यक्रमको प्रयोजनका लागि मात्रै प्रधानमन्त्रीको सल्लाहकारको रुपमा नेपालको प्रतिनिधित्व गर्दै पूर्वकानूनमन्त्री गोविन्द प्रसाद शर्मा कोईरालालाई पठाइएको उनले बताउइन् । 

Logo