स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनको नाम दर्ता

स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनको नाम दर्ता

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आगामी ५ चैतमा हुने निर्वाचनका लागि शुक्रबार त्रिविका विभिन्न क्याम्पसमा संघ–संगठनले आ–आफ्नो नाम दर्ता गराएका छन् ।

देशभरका ६२ वटा आंगिक र अन्य सम्बन्धनप्राप्त क्याम्पसमा दुई सय ५४ नाम दर्ता भएका हुन् । जसमध्ये सबैभन्दा बढी ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा संघ–संगठन र समूह गरी ३५ वटा दर्ता भएका छन् । रत्नराज्यलक्ष्मी क्याम्पसमा १७ वटा संघ–संगठनले नाम दर्ता गराएका छन् । 

जसमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन, अखिल क्रान्तिकारी विप्लव, समाजवादी विद्यार्थी युनियन, स्वतन्त्र विद्यार्थी सञ्जाल लगायतका विद्यार्थी संगठनले नाम दर्ता गराएका छन् । 

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले हरेक क्याम्पसमा नाम गर्दा गराउन सकिने व्यवस्था गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार सबैजसो क्याम्पसमा नाम दर्ता सकिएको छ । कृषि क्याम्पस लमजुङमा भने आइतबार नाम दर्ताको समय तोकिएको छ ।

उनका अनुसार नाम दर्ताको अन्तिम नामावली प्रकाशन आइतबार साँझ हुनेछ । २१ फागुनमा मतदाता सूची प्रकाशन गर्ने र २७ फागुनमा उम्मेदवारी दिने मिति छ । सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारी गर्न सकिनेछ ।  

चैत ५ बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन मिति तय भएको छ । स्ववियु निर्वाचनको सुरक्षा प्रबन्ध मिलाउन ७७ वटै जिल्लालाई गृह मन्त्रालयले पत्राचार गरिसकेको छ । त्यस्तै, स्थानीय तहलाई समन्वय गर्न र निर्वाचन सहज बनाउनसमेत त्रिविले पत्राचार गरेको छ । 

प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन लामो समय टर्दै आएको थियो । त्रिवि पदाधिकारी, विभाग, संस्थान, विभिन्न संकायका डिन, परीक्षा नियन्त्रक, विद्यार्थी संघ–संगठनलगायतको छलफलपछि चुनावको निर्णय भएको थियो । यसअघि ६ चैत ०६५ र १५ चैत ०७३ मा स्ववियु निर्वाचन भएको थियो । 

देशैभरि त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पस रहेका छन् । त्यसमध्ये ०७३ मा पनि आरआर क्याम्पससहित उपत्यकाका नौवटा आंगिक र बाहिरका १७ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएको थियो ।

Logo