प्रधानमन्त्री प्रचण्डले आज जनयुद्धका सहिद परिवारसँग अन्तरक्रिया गर्ने

प्रधानमन्त्री प्रचण्डले आज जनयुद्धका सहिद परिवारसँग अन्तरक्रिया गर्ने

केन्द्रबिन्दु
0
Shares

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सन्ततिहरूले शीर्ष नेताहरू बोलाएर आज अन्तरक्रिया गर्ने भएका छन् ।

सहिद र बेपत्ता परिवारका सन्ततिहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरूलाई बोलाएर कार्यक्रम गर्न लागेका हुन् । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रचण्डसहित सम्पूर्ण विभाजित माओवादी नेताहरूलाई बोलाएर अन्तरक्रिया गर्न लागेका हुन् । सहिद सप्ताहको अन्तिम दिन पारेर आज प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष सन्दीप पुनले बताए । 

प्रधानमन्त्री प्रचण्ड सहित ६ पूर्व माओवादीका नेताहरूले आउन बचन दिएको पुनले बताए । ‘तत्कालीन जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका सबै सन्ततिहरूको नाममा संस्था बनाएका छौँ । जनयुद्धमा सहभागी भएका सबै शीर्ष नेताहरूलाई बोलाएको छ’ पुनले भने, ‘सबै शीर्ष नेताहरूलाई एउटै ठाउँमा बोलाएर सहिद तथा बेपत्ता पारिवाको तर्फबाट आफ्नो कुरा राख्ने तयारी गरेका छौँ ।’ 

कार्यक्रममा सहिद तथा बेपत्ता पारिएका परिवारको सपना पूरा गराउन घचघच्याइने पुनले बताए । सो कार्यक्रममा प्रचण्डसहित नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा महासचिव विप्लव, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला, नेकपा समाजवादी माओवादीका अध्यक्ष कर्णजीत बुढालाई बोलाएको छ ।
 

Skip This
Skip This
Logo