सत्ता गठबन्धन १० टाउके रावण हो, महिलाका हक अधिकार हरण गर्दैछ -अध्यक्ष ओली

सत्ता गठबन्धन १० टाउके रावण हो, महिलाका हक अधिकार हरण गर्दैछ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका छन् । 

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन् । उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरे । 

उनले १० दलिय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंस मचिने दाबी गरे । सत्ता गठबन्धनप्रति इंगित गर्दै उनले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए । 

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताए । 

उनले नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उठाएको उम्मेदवार पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना प्रवल रहेको बताए । उनले १० दलीय गठबन्धनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप लगाए । 

निर्वाचन आयोगलाई समेत गठबन्धनले उपराष्ट्रपति पदमा महिला हुनु नपर्ने भन्न प्रयोग गरेको आरोप लगाउँदै अझै अन्य संस्थाहरु पनि प्रयोग गर्नसक्ने अध्यक्ष ओलीले बताए । उनले जित्ने आधारहरु रहेपनि बोल्नु वाञ्छनीय नहुने बताए । गठबन्धनभित्र धेरै प्रकारका समस्या रहेको तर एमालेभित्र कुनै समस्या नरहेको उनले जिकिर गरे । 

उनले अहिले राष्ट्रिय राजनीतिमा अरु सबै दल एकतिर र एमाले एक्लै एकतिर भइरहेको भएपनि त्यसलाई नराम्रो मान्नु नपर्ने बताए । उनले बहुदलीय व्यवस्थामा १० थरी १० तिर हुनुभन्दा १० थरी एकै ध्रुवमा समाहित हुन राम्रो रहेको बताए । 

अध्यक्ष ओलीले १० दलका नेताहरुको मानसिकता डरलाग्दो रहेको बताए । उनले १० दलीय गठबन्धनलाई प्रतिगामी शक्तिको संज्ञा पनि दिए । उनले अहिलेको गठबन्धन अघि जाने नभइ पछि सर्ने काम गरिरहेको बताए । यसअघि संवैधानिक मुख्य पदहरुमा एक महिला र एक पुरुष हुनुपर्ने अभ्यास गरिसकेको र संविधानले पनि सोही कुरा उल्लेख गरेपनि प्रतिगामी शक्तिका कारण संविधानतः उपराष्ट्रपतिका लागि काम हुन नसकेको उनले जिकिर गरे । 

अध्यक्ष ओलीले सामान्य रुपमा नेकपा एमालेको शक्ति कमजोर भएपनि उपराष्ट्रपतिमा एमालेबाट उम्मेदवार शाक्यले नै जित्नुपर्ने बताए । उम्मेदवार शाक्य पराजित हुनु भनेको अहिलेसम्म महिलाहरुकले पाएका उपलब्धि र सामाजिक न्याय तथा समानताको आन्दोलनबाट प्राप्त उचाईलाई पछाडि फर्काउनु रहेको उनले बताए । 

साथै उपराष्ट्रपतिमा शाक्यलाई जिताउन लाग्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिए । 

Skip This
Skip This
Logo