उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

केन्द्रबिन्दु
0
Shares

मुलुकको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएको छन् । 

शुक्रबार भएको निर्वाचनमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झालाई पछि पार्दै यादव निर्वाचित भएका हुन् ।उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे जसमा उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाए ।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्। 

यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसदका १०४ र प्रदेशसभाका १६९ जना सदस्यले मत दिएका थिए । यसैगरी, जसपाकै प्रमिलाकुमारी यादवलाई संघीय संसदका एक जनाले मत दिँदा प्रदेशसभाबाट शून्य मत परेको थियो । साथै जनमत पार्टीकी ममता झाले संघीय संसदका २३ जना सदस्य र प्रदेशसभाका १५ जना सदस्यबाट मत पाएकी हुन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा भएको मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । आजको मतदानमा सङ्घतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद मतदान नगरी तटस्थ बसे । 

यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको तथा सांसदहरु चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएनन् । साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण मतदानमा अनुपस्थित भए । प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसे भने जसपाका एक सदस्य अनुपस्थित रहेकाे निर्वाचन आयोगले जनाएको छ । 

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ ।

Skip This
Skip This
Logo