सातौंपल्ट पुनर्गठन तर मन्त्रिपरिषद् अपूरै

सातौंपल्ट पुनर्गठन तर मन्त्रिपरिषद् अपूरै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेपनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेका छन् ।

हिजो मन्त्रिपरिषद पुनर्गठन भएपछि प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री भएका छन् ।सत्तारुढ दलहरूबीच ठोस सहमति जुट्न नसक्दा र काँग्रेसभित्रको आन्तरिक विवादले मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो ।

काँग्रेसको भागमा परेका ४ मन्त्रालय, जसपा र जनमत पार्टीबाट एक, एक मन्त्रालय अझै रिक्त छन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले रोजेको मन्त्रालय नपाएपछि राजीनामा दिएका हुन् । उद्योग मन्त्रालयमा दावी गर्दै आएका खानले त्यो मन्त्रालय नपाएपछि राजीनामा दिएका थिए ।

खानले सम्हाल्दै आएको खानेपानी मन्त्रालयसहित परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हालेका छन् । गठबन्धन दलहरुबीच भएको भागबण्डाअनुसार वन तथा वातावरण मन्त्रालय जनता समाजवादी पार्टीलाई परे पनि उसले नाम पठाउन सकेन । जसपाको भागमा परेको  शिक्षा मन्त्रालय अशोक राईले सम्हाल्नुपरेकाे छ ।

काँग्रेसको भागमा परेको आठमध्ये चार मन्त्रालयमा मात्रै मन्त्री नियुक्त भएका छन् । मन्त्रालय भागबण्डामा शेखर कोइराला समूहले असन्तुष्टि जनाएपछि बाँकी चार मन्त्रालय रिक्त हुन पुगेको हो । काँग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन् । 

प्रधानमन्त्रीले काँग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।    

हिजो मन्त्रिपरिषद पुनर्गठन हुँदा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । भौतिक पूर्वाधार तथा उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने माओवादीका अरु मन्त्रीको पद यथावत राखिएको छ । 

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भए । लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा  सामाजिक सुरक्षा मन्त्री, नेपाल समाजवादीबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन् ।

Logo