पशुपति विकास कोषका पदाधिकारी कमिशनको खेलमा मात्रै लाग्दा रहेछन्- पर्यटनमन्त्री किराती

पशुपति विकास कोषका पदाधिकारी कमिशनको खेलमा मात्रै लाग्दा रहेछन्- पर्यटनमन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् । 

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताए । पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाई थियो ।

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताए । त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाईलेट आफूलाई सोधेको र आफू पनि टवाईलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।

मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाईमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए । उनले सो क्षेत्रमा बिहान मोर्निङ वाकमा आउनेहरुले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाईका लागि सबै सुध्रनुपर्ने अवस्था रहेको बताए ।

मन्त्री किरातीले भने, ‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो । यसको ठूलो उद्देश्य छ । आज म धेरै नै फोहोरमा पसेको छु । साथीहरुले डाँडाडाँडा सफा गरेर हिड्थ्यो । प्लाष्टिक मात्रै भेटिन्थ्यो । आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु । हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने । कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने ।

विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त । त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर अव संस्कृति जनतामा कस्तो भने कुकुर डोहो-याउँदै जाने, मोर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लाष्टिकमा होफोर फ्याँकेर हिँडने ।

हामी सबै सुध्रिनुपर्ने देखिन्छ । पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो । जहाँ हामी सफाई नै गर्दैनौं । धेरै मानिसहरुले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा । म आफैँ ट्वाईलेट खोजी हिँडदै थिए । कति गाह्रो छ । हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोसिस गर्दैछौं । त्यसमा यो पनि एउटा आधार भएको छ ।’ मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको बताए ।

Logo