यही चैत २९ मा हुने नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि ६४ पदमा मंगलबारसम्म ११८ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक प्रदेश र द्विराष्ट्रिय सदस्य निर्विरोध भएका छन् ।
चैत २९ को निर्वाचनका लागि मंगलबारसम्म अन्तिम उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जनाए । अन्तिम समयसम्म वरिष्ठ उपाध्यक्ष पदका लागि ३, जिल्ला/नगरतर्फका उपाध्यक्षका लागि ३, वस्तुगततर्फका उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फका उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।
जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगतर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशी प्रदेशमा १ सदस्यका लागि ३, मधेशमा १ सदस्यका लागि २, वाग्मतीमा १ सदस्यका लागि २ र गण्डकीमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा १ सदस्यका लागि ३ र सुदूरपश्चिम प्रदेशमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।
संस्थापक समूहबाट १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । निर्वाचन ६४ पदका लागि मात्र हुनेछ । ‘तर, मनोनीत, ७ वटा प्रदेशबाट निर्वाचित भइसकेका अध्यक्षलगायत केही सदस्यसहित कार्यसमिति भने ७७ सदस्यीय हुनेछ,’ उनले भने ।
तीनवर्षे कार्यकालका लागि एक वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले उक्त पदमा प्रतिस्पर्धा कडा हुने देखिएको हो । उम्मेदवारी दर्ताको अन्तिम दिन मंगलबार महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ र वर्तमान वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले आआफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । द्विराष्ट्रिय सदस्यका लागि पनि नेपाल-भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनील केसीको मात्र उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भएका हुन् ।





























प्रतिक्रिया