नेपाली समाजवादको खाका कसैसँग छैन- जनार्दन शर्मा

नेपाली समाजवादको खाका कसैसँग छैन- जनार्दन शर्मा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन् ।  

नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौती र समाधानका उपायहरू विषयक अन्तर्क्रिया  कार्यक्रम’मा  उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताए । उनले अब केही दिनमै समाजवादी मोर्चाको घोषणा हुनेसमेत कार्यकर्तालाई जानकारी दिए।

“समाजवादी मोर्चाबारे माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र नेपाल समाजवादी पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको यद्यपि घोषणा हुन बाँकी छ”, उनले भने । पूर्वगृहमन्त्रीसमेत रहेका उनले सङ्गठन सङ्घर्षबाट विमुख हुँदा पार्टीले अपेक्षित गति लिन नसकेको भनाइ राखे । 

उनले प्रदेश सरकारको पुनर्गठनबारे केही दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्ने जनाउँदै माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे। अभियानका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका उपमहासचिव शर्माले आन्तरिक स्रोत साधनसँग प्रविधिको प्रयोग गरी पार्टीलाई अगाडि बढाइने जनाए। 

अन्तर्क्रियामा केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, युवानेता रामदीप आचार्य,प्रदेश समितिका अध्यक्ष विमला केसीलगायतले कर्णालीको गरिबी निवारणको मुद्दालाई प्राथमिकता राखेर पार्टीका गतिविधि सञ्चालन गरिने जनाए । कार्यक्रममा पार्टीका नेता, भातृ तथा पेसागत सङ्गठनका प्रतिनिधि गरी करिब तीन सयको सहभागिता  रहेको थियो ।

Logo