नेकपा(एमाले)का सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सरकारले प्रश्तुत गरेको न्युनतम साझा कार्यक्रम सत्तारुढ दश दलको मात्रै भएको बताएका हुन् । उनले एमाले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको र एमालेको हस्ताक्षर नभएको भन्दै त्यसलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्न नमिल्ने बताए ।
सांसद पन्तले कार्यक्रममा सबैका घोषणापत्रबाट राम्रा राम्रा कुरा झिकेर राखिएको भन्दै सरकारको प्राथमिकताको विषय मूर्त रुपमा आउन नसकेको बताए ।
उनले भने, ‘जुन साझा सहमति उहाँहरुले ल्याउनुभएको छ, यो त दश दलको हो । हस्ताक्षर नै दश दलका नेताहरुले गर्नुभएको छ । संसदमा १० दल मात्रै छन् ? नेकपा(एमाले) प्रमुख प्रतिपक्षको हैसियतमा छ र उसले त्यसमा हस्ताक्षर गरेको छैन । अनि कसरी यो राष्ट्रिय सहमतिको दस्तावेज भयो ? १३ पेजको दस्तावेज तपाईहरु पढ्नुस् । सबैका घोषणापत्रबाट राम्रा राम्रा कुरा झिकेर राखेको छ । सबैथोक हुनु भनेको केहीपनि नहुनु हो ।’
त्यस्तै एमाले सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीले सय दिनको बीचमा दुईवटा साझा न्यूनतम कार्यक्रम जारी गर्नु रमाइलो कुरा भएको टिप्पणी गरे । साझा कार्यक्रम कार्यान्वयन गर्नका लागि नभई सार्वजनिक खपतका लागि ल्याइएको उनको भनाई छ ।
उनले सरकारको मुख्य ध्यान जनताको काम गर्ने भन्दापनि मन्त्रालय बाँडफाँट र सत्ताको लेनदेनमा सिमित रहेको बताइन् ।





























प्रतिक्रिया