मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस्ः सांसद झा

मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस्ः सांसद झा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाईप्रति विश्वास गर्न नसकिने बताएका छन् । 

पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भईरहेका बेला सांसद झाले सो भनाईलाई आफूले विश्वास गर्न नसक्ने बताएका हुन् । सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन चुनौति दिए । 

नेपाली काँग्रेसमा आवद्धहरुले ट्वीटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि ८ करोड लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेको देखाउनुपर्ने बताए । उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकिर गरे । 

मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई २ करोड दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो आईतवार (हिजो) सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्वित भएका छन् । सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको, बरु आरोप लगाउने काँग्रेस पार्टी भित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरुसँग रहेको दाबी गर्दै दोषीलाई कारबाही गरेर देखाउन पनि काँग्रेस नेतृत्वलाई चुनौति दिए ।  

सांसद झाले विवादमा परेपछि निलम्वनमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्ध विच्छेद गरेको पनि स्पष्ट पारे । छानबिनका लागि पार्टीका सदस्यहरुलाई प्रभाव पार्नसक्ने भन्दै आफूहरुले निलम्वित सांसद श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेर छानवीनको प्रक्रियालाई अघि बढाउनु परेको पनि उनले स्पष्ट पारे । उनले आरोप पुष्टि भए निलम्वित सांसद श्रेष्ठमाथि कारबाही हुने पनि स्पष्ट पारे ।  

सांसद झाले निलम्वित सांसद श्रेष्ठलाई जोगाएर आफूहरुले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि पटकपटक दोहो-याए । 

व्यवसायी प्रसाईंसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आईतवार (हिजो) सांसद श्रेष्ठलाई निलम्वन गरी ७२ घण्टा भित्र छानबिन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

Logo