बिदा भयो २०७९ साल, स्थिर रहेन राजनीति

बिदा भयो २०७९ साल, स्थिर रहेन राजनीति

केन्द्रबिन्दु
0
Shares

नेपाली राजनीतिमा २०७९ साल निकै उतार–चढावपूर्ण रह्यो । विश्वले चरम आर्थिकमन्दीको सामना गरिरहेका बेला नेपालमा भने राजनीतिक उतारचढाव कायमै रह्यो । २०७९ मा के-के महत्वपूर्ण राजनीतिक घटना भए त ? हामीले २०७९ भरिका मुख्य राजनीतिक घटनाक्रमलाई सम्झने प्रयास गरेका छौं ।

१.स्थानीय तहको निर्वाचन तथा राजनीतिमा नयाँ पार्टी र व्यक्तिको उदय

स्थानीयतहका लागि २०७९ वैशाख ३० मा निर्वाचन भयो। २०७४ मा तीन चरणमा निर्वाचन भए पनि यो पटक एकै चरणमा चुनाव गर्न निर्वाचन आयोग सफल रह्यो । काठमाडौं, धरान, धनगढीजस्ता ठूला शहरका मतदाताले स्वतन्त्रलाई रोजे । काठमाडौंमा बालेन साह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमाल चुनिए । अन्य केही स्थानीय तहमा पनि स्वतन्त्रहरुको उदय भयो । 

२.रविको नेतृत्वमा रास्वपा 

कार्यक्रम प्रस्तोताका रुपमा लोकप्रिय रहेकै अवस्थामा एकाएक टेलिभिजन छाडेका रवि लामिछानेले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा घोषणा गरेका गरे । स्थानीय तह निर्वाचन सकिएको र प्रदेश निर्वाचन बहिस्कार गरेकोलामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय निर्वाचनमा सहभागी भयो । निर्वाचनमा प्रत्यक्षतर्फ ७ सहित२० सिट जितेर प्रतिनिधिसभामा चौथो ठूलो शक्ति बनेको रास्वपा राष्ट्रिय दल बन्यो । 

३.अर्थमन्त्री जनार्दन शर्माको सीसीटीभी प्रकरण 

बजेट हेरफेरको लागि अर्थमन्त्रालयमा मध्यराति अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको भन्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा राजनीतिको केन्द्रमा रहिनै रहे । विवाद र विरोधका बीच राजीनामा दिए पनि छानबिनसमितिले ‘करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि शर्मा फेरि साउन १५ गते मन्त्रीमा फर्किए । 

४.प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ मंसिर ४ मा सम्पन्न भयो । निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपाले १४, जसपाले १२, एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ तथा नेमकिपा र राजमो १–१ सिट जिते । स्वतन्त्रबाट ५ जना उम्मेदवार संसद छिरे । 

५. पुराना दललाई नयाँ दलको झट्का/नयाँ दलको उदय 

गत वर्ष भएको संसदीय चुनावमा पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, जसपालाई नयाँ दलहरूले राम्रै चुनौती दिए । यी दलहरूका ठाउँठाउँमा भोट बैंकहरू ध्वस्त पारिदिए । रवि लामिछाने नेतृत्वको रास्वपाले काठमाडौंसहितका प्रमुख सहरहरुमा मतदाताको मत जित्यो ।सीके राउत नेतृत्वको दल जनमतले मधेश र रञ्जिता श्रेष्ठ चौधरीको दल नागरिक उन्मुक्तिले सुदूूरपश्चिको तराईमा प्रभाव जमायो । ठूला दलहरूको जितमा यी दलहरूले ठाउँठाउँमा ‘ब्रेक’ लगाइदिए ।  

६.प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री 

आम निर्वाचनमा माओवादी ३२ सिटसहित तेस्रो ठूलो शक्ति बन्यो । प्रधानमन्त्री बन्न कांग्रेस नेतृत्वमा रहेको तत्कालीन गठबन्धनकै मुख्य सहयोग प्राप्त गर्ने प्रचण्डको दाउ थियो। तरकांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन नपाएपछि प्रचण्डओली निवास बालकोट पुगेपछि एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नाउपा र स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको समर्थनमा उनी पुस १० मा प्रधानमन्त्री नियुक्त भए।

७.एकै ठाउँका नयाँ सभामुख र उपसभामुख 

नयाँ प्रतिनिधि सभा गठन भएसँगैमाघ ५ मा सभामुखको निर्वाचन भयो। एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भए। त्यस्तै माघ ७ मा उपसभामुखका लागि निर्वाचन भयो। रास्वपाकी इन्दिरा राना मगर उपसभामुख निर्वाचित भइन् । संयोग के भने आवद्ध पार्टी फरक भए पनि सभामुख घिमिरे र उपसभामुख राना दुबै झापाको अर्जुनधारा नगरपालिकाका हुन् । 

८.रवि लामिछाने पदमुक्त 

माघ १३ गते नागरिकता विवादमा सर्वाेच्च अदालतद्वारा चितवन क्षेत्र नम्बर २ का सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको सांसद पद खारेज भयो । यो सँगै उनको उपप्रधान एवं गृहमन्त्री पदपनि फुत्कियो । २०७९ मा रवि लामिछानेको नागरिकता तथा राहदानी विवाद निकै चर्चित घटनाका रुपमा रह्यो ।उनी पदमुक्त भएपछि रिक्त भएको चितवन– २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ। 

९. दलहरुद्वारा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता 

राष्ट्रपति चयनको विषयमा विवाद भएपछि तत्कालिन सत्ता गठबन्धन भत्कियो । प्रधानमन्त्री निर्वाचनका लागि बाल्कोट पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गरे । फागुन १३ मा राप्रपा र १५ मा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो । 

१०. नयाँ राष्ट्रपति र उपराष्ट्रपति 

फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका रामचन्द्र पौडेलगणतन्त्र मुलुकको चौथो कार्यालयका लागि राष्ट्रपति चुनिए । चैत ३ गते भएको उपराष्ट्रपतिनिर्वाचनमा जसपाका रामसहायप्रसाद यादव विजयी भए। 

११.प्रधानमन्त्रीलाई दुई पटक विश्वासको मत 

पुस १० मा प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ मा पहिलोपटकविश्वासको मत लिए। एमाले र राप्रपाले सरकार छाडेरसमर्थन पनि फिर्ता लिएपछि उनले पुनः चैत ६ गते दोस्रो पटक विश्वासको मत लिए। 

१२.सात पटक मन्त्रिमण्डल विस्तार 

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ११ गते पहिलो पटक सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए । त्यसपछि साढे ३ महिनामा ७ पटक मन्त्रीहरु हेरफेर गरेपनि राजनीतिक अस्थिरताका कारण अझै मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । चैत १७ गते सातौँपटक मन्त्रीमण्डल विस्तार गरिएपनि अझै ६ मन्त्रालयमन्त्रीविहीन छ । 

१३. सांसद ढाकाकुमारको अडियो प्रकरण 

वर्षको अन्त्यमा चैत २६ गते रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो संवाद सार्वजनिक भयो । त्यसले तताएको राजनीति अझै सेलाएको छैन । त्यसबारे लगत्तै रास्पपाले छानबिन गर्यो र दोषी करार दिँदै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गर्यो । उनको सांसद पद पनि गुम्यो । रास्वपाले उनको स्थानमा एसिडपिडीत तथा सामाजिक अभियन्ता विन्दबासिनी कंशाकारलाई सांसद बनाउने निर्णय लियो ।

Logo