‘सार्वभौम नेपाली जनताका विरुद्ध तरबार उज्याएकाले ओलीले सिद्धिए’ : प्रचण्ड (भिडियाेसहित)

‘सार्वभौम नेपाली जनताका विरुद्ध तरबार उज्याएकाले ओलीले सिद्धिए’ : प्रचण्ड (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली सिद्धिएको तर्क गरेका छन् । मंगलबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठनको भेलामा सम्बोधन गर्दै प्रचण्डले ओलीले बाजी हारिसकेकाले सिद्धिएको दावी गरेका हुन् ।

ओलीले संविधानवादका विरुद्ध गएर, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध गएर र सार्वभौम नेपाली जनताका विरुद्ध तरबार उज्याएकाले ओलीले लडाइँ हारेको प्रचण्डको तर्क थियो । उनले प्रधानमन्त्री ओलीलाई इतिहासको कलंकको रूपमा अवतरित भएको आरोप समेत लगाए । ओलीको निरंकुश प्रवृत्तिको कारण, दम्भ र अहंकारको कारणले मुलुक आजको स्थितिमा आएको प्रचण्डको भनाई छ ।

यस्तै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतीक भएको बताएका छन् । मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठनको भेलामा सम्बोधन गर्दै उनले ओलीले संघीयतालाई पनि मन नपराउने बताए ।

केपी ओली प्रतिगमनका प्रतीक हुन् , अग्रगमनका होइनन् । सबैतिर उनको एकलवाद, व्यक्तिवाद, अहंकार, दम्भ, आइ एम द स्टेट, आइ एम द पार्टी हाबी छ । उनी आफूलाई पार्टीभन्दा माथि ठान्छन् । उनी आफूलाई संविधानभन्दा माथि ठान्छन् । त्यसैले असंवैधानिक र गलत कदम उठाउने गरेका छन्’ उनले भने ।

केपी ओली पहिल्यैदेखि गणतन्त्र विरोधी भएको नेता नेपालले आरोप लगाएका छन् । अध्यक्ष नेपालले ओलीले पहिल्यैबाट पार्टीको बैठकमै गणतन्त्र आउन सक्दैन, यसको विपक्षमा छु । मेरो फरक मत रहन्छ भन्ने गरेको खुलासा समेत गरे । गणतन्त्रको विरोधमा रहेका ओलीलाई गणतन्त्रप्रति माया र मोह नहुने अध्यक्ष नेपालको भनाई छ । नेपालले आफू र प्रचण्डबीचको सम्बन्ध विश्वासको जगमा भएको र यो सम्बन्ध ४० वर्षदेखि निरन्तर रहेको पनि बताए ।

Logo