काठमाडौं । संसदीय समितिले देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको यकीन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सरकारलाई त्यस्तो निर्देशन दिएको हो ।
पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर लगायत देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको यकिन गर्न सरकारलाई निर्देशन दिइएको समितिले जनाएको छ । धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउने कार्य अगाडि बढाउन पनि समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समिति सभापति पवित्रा निरौलाले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालीगढ उत्पादन गर्ने योजना बनाउन पनि निर्देशन दिइएको जानकारी दिइन् ।
त्यस्तै समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ । पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्डअनुसार कम अघि बढाउन पनि निर्देशन दिएको छ । साथै, संघ प्रदेश र स्थानीय तहको समन्वयमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्दै समयअनुकुल विकास गर्न पनि समितिले निर्देशन दिएको छ ।





























प्रतिक्रिया