प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाडौँको बसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । अनसन बसेको खवर पाँचौ दिनमा थाहा पाएपछि मुख्यसचिव शंकरदास बैरागीमार्फत् माग सम्बोधन गर्न निर्देशन दिएकाे जनाइएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रवार साझ मुख्य सचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनसनकारीको स्वास्थ्य अवस्था एवम् माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिएका हुन्।
सो क्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले मन्त्रालयले अनसन बसेको जानकारी आएको आधा घण्टामै अनसनस्थलमा पुगेर रेस्पोन्स गरेको, मन्त्रालयबाटै डा. नवीन घिमिरे, डा. माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसान सामु पठाइएपनि हालसम्म सहमतिमा नआएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्धामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैलेपनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिए ।
प्रधानमन्त्रीको निर्देशनअनुसार नै उनका जायज माग सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । माग सम्बोधन हुने भएपछि घिमिरेले आमरण अनशनसहितको कार्यक्रम स्थगित गर्ने विश्वास लिइएको छ ।































प्रतिक्रिया