प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टोली एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेकोमा सरकारले उचित सम्मान गर्ने बताएका छन्।
शनिबार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको कुवेतविरूद्धको पहिलो सेमिफाइनल खेल भारी वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो। त्यसपछि नेपाली टोलीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
वर्षाका कारण दुई घन्टा बढी अवरुद्ध भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । तर डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८ ओभर ३ बलमा ६ विकेटको खर्चमा ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेपछि थप खेल हुन सकेन । समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो भने कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो । यस प्रकार नेपाल समूह विजेताकोरुपमा फाइनलमा स्थान बनाएको हो ।
अब उपाधिका लागि नेपाल र यूएईबीच आगामी सोमबार फाइनल खेल हुनेछ । मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भएपछि यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुगेको हो ।































प्रतिक्रिया