नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरण घटना नभई प्रवृत्ति भएको बताएका छन् ।
बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत महामन्त्री थापाले यस प्रकरणमा संलग्न जुनसुकै ओहदाको भएपनि गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको भन्दै यस्तो कार्यमा संलग्न कोही पनि नछुटाउन सम्बन्धित निकायलाई पनि आग्रह गरेका छन् ।
‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो ।’ उनले लेखेका छन्, ‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन ।’
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । बुधवार सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ । साथै पूर्वमन्त्री टोपबहादुर रायमाझीकाे खाेजी भइरहेकाे छ भने उनका छाेरा सन्दीपलाई भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।































प्रतिक्रिया